शैक्षिक क्षेत्रको समग्र सुधार नगरे देश बन्दैन : थापा

प्रतिनिधि सभा सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि समितिका सभापति अमरबहादुर थापाले देशको समग्र अवस्था सुधार गर्नका लागि शैक्षिक क्षेत्रको सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको शिक्षा क्षेत्रको परिवर्तनका लागि खाडी जाने शिक्षा हैन देशमा रोजगारी गर्ने शिक्षाको आवश्यकता भएको छ शिक्षामा देखिएका चुनौतीहरूको आमूल परिवर्तन गरेर ऐन जारी गर्नै सरकारको तयारी रहेको थापाले बताएका छन् ।

दैलेखी सेवा समाज काठमाडौँले गरेको विशेष अधिवेशन उद्घाटन गर्दै सांसद थापाले शिक्षकहरूलाई राज्यले प्रदान गर्ने सेवा सुविधा प्रभावकारी गराउनुपर्ने, अन्य कर्मचारीहरू भन्दा अव्बल सेवा सुविधा दिनुपर्ने, हरेक पालिकामा न्यूनतम २ घण्टाको दुरीमा माध्यमिक विद्यालय स्थापना गर्नुपर्ने, आवश्यकता अनुसार प्राविधिक शिक्षा जिल्लामा स्थापना गर्नुपर्ने गरी ऐन बनाउने तयारी भएको बताएका छन् । सुविधा प्रभावकारी प्रदान गरे लगत्तै शिक्षकहरूले राम्रो काम गर्न नसकेमा तत्कालै कारबाही गर्ने व्यवस्था समेत ऐनमा राख्न सुझाव संकलन भइरहेको थापाको भनाई छ ।

राज्य सफल बनाउनका लागि उत्पादनमुखी शिक्षाको रणनीति अवलम्बन गराउनुपर्ने, हरेक ५ वर्षमा शिक्षकलाई परीक्षा लिएर मापदण्ड निर्माण गर्न सकेमामात्र राज्य सफल हुने भएकोले समितिले शिक्षा विधेयक टेबल गर्नका लागि गृहकार्य गरिरहेकोले सोही अनुसार सबैले सहयोग गर्न सुझाव दिएका छन् ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले दैलेखी सेवा समाजले हरेक समस्यामा परेका नागरिकहरूका लागि मानवीय सहायताका सेवाहरु प्रदानगर्दै आइरहेको बताएका छन् । सेवा समाजमार्फत विभिन्न समस्यामा परेका दैलेखका मात्र नभई देशभरका नागरिकहरूले सेवा प्राप्त गरिरहेकोले सहयोगी मनहरूलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार